Silauti
Delve into the enchanting world of Silauti, a Kirat religious place that emanates spiritual energy and cultural heritage. Discover the age-old rituals, sacred legends, and cultural significance that define Silauti's essence. Embark on a spiritual odyssey to Silauti to experience the profound spirituality of the Kirat community.
नेपालको सुदूर पूर्वी जिल्ला पान्थर जिल्लाको फाल्गुनन्द गाउँपालिका २, याम्बोङ रहेको सिलौटी साङसेन नाम्भुन यक माङहिम (सिलौटी साङसेन हाङसाम माङहिम)को स्थापना वि.सं. १९९५ मा भएको हो। सबै भन्दा उचाइमा रहेको महागुरुकालीन यस माङहिमको स्थापनकालमा सञ्चालक समिति थिएन। माङहिमका माङसेवासाबा सिद्धिनन्द फेजङ नेम्बाङले माङहिमको संरक्षण गर्नुभयो। वहाँको देहावसानपछि किरात ज्योतिषविद रनध्वोज नेम्बाङको पहलबाट सञ्चालन भयो।
वि.सं. १९९५ मा निर्माण गरिएको माङहिम वि.सं. २००७ मा भत्क्यो। त्यसपछि फुसको छाना भएको माङहिम निर्माण गरिएको थियो। त्यस माङहिममा आगलागी भयो। त्यसबेला त्यहाँ रहेका ऐतिहासिक दस्तावेजहरु डढेर नष्ट भए।
यस माङहिममा मुहिङगुम अङसीमाङले हिमालबाट किरातीहरुका लागि चिनो स्वरुप ल्याउनुभएको मानिसको जिब्रोजस्तो बल्ने मणिढुंगा (माङलुङ) थियो। तर, त्यो मणिढुंगा चोरी भयो। यस माङहिमभित्र फक्ताङलुङ शिला, पुज्ने सिलौटी शिला, सावायेत्हाङसाः थिकहुप पोङमा (विश्वशान्ति तथा मानव एकताको प्रतीकरुपी) त्रिशुल, तरबार गाडिएको छ। माङहिममा ठूलो ढ्याङ्ग्रो, मुहिङगुम अङसीमाङले लगाउनुभएको एक जोर खराउ र वहाँले प्रयोग गर्नुभएको खाट राखिएको छ।
यस माङहिम भएको ठाउँमा मुहिङगुम अङसीमाङ फाल्गुनन्दको पहिलो पटक आगमन वि.सं. १९९१ मा भएको थियो। वहाँ फक्ताङलुङ यात्राबाट वि.सं. १९९३ मा फर्किनु भई वि.सं. १९९५ मा यस माङहिम निर्माण गराउन लगाउनुभयो। वहाँले यही माङहिममा लेख्न बाँकी रहेका साम्जीक मुन्धुम लेखाउनुभएको थियो। वहाँले यसै माङहिममा वि.सं. १९९५ साउन २७ गते र २००५ पुस १३ गते देववाणी र भविष्यवाणी गर्नुभएको थियो।
यस माङहिमको स्थापनाकालको माङसेवासाबा सिद्धिनन्द फेजङ नेम्बाङ रहनुभएको थियो। वहाँपछि वहाँकै छोरा निलकुमार फेजङ नेम्बाङ र हाल नायमहाङ नेम्बाङ रहनुभएको छ।
यसअघि जिर्णोद्वार गरिएको माङहिम जीर्ण भएपछि नारायण लाओतीले माङहिम पुनः जीर्णोद्वारको पहल गर्नुभयो। र, जिल्ला पञ्चायत समितिको सहयोगबाट वि.सं. २०३९/४० मा पुनः निर्माण गरियो। तर, उक्त माङहिम वि.सं. २०४५ को भूकम्पले भत्कियो। त्यसैले भक्तजनहरुबाट माङभेटी संकलन गरी तथा हात्तीलेदाका भक्तजनहरुबाट विशेष सहयोगमा करिव ४ वर्षमा तेस्रो पल्ट जिर्णाेद्वार भयो। यस माङहिममा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’को पहिलो आगमन वि.सं. २०२६ मा भएको थियो।
यस माङहिम क्षेत्रमा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनको निर्देशनमा वि.सं. २०६१ मा रिङरोड निर्माण भएको छ।
यस माङहिमको छेवैमा ध्वजे डाँडा रहेको छ। सो स्थानमा महागुरु फाल्गुनन्दको समाधिस्थल राखिएको छ।