Phulungi

Phulungi

Phulungi

Immerse yourself in the sacred ambiance of Phulungi, a cherished Kirat religious place brimming with spiritual significance. Discover the rituals, folklore, and cultural heritage that make Phulungi an integral part of Kirat spirituality. Embark on a profound journey to Phulungi to connect with the ancient roots of Kirat traditions.

नेपालको सुदूर पूर्वी जिल्ला इलामको सुदूर–पश्चिमी क्षेत्रमा माङसेबुङ गाउँपालिका छ। यही गाउँपालिकाको वडा नं. ३ मा फुलुङगी पर्दछ। यसैको एउटा सानो ठाउँ गुफा डाँडा नामले परिचित छ। भौगोलिक रुपमा यो ठाउँ इभाङ, बाँझो, महमाई र जीतपुर गाउँको संगम स्थल साथै माई खोला, देउमाई खोला र मेक्वा खोलाको संगम स्थलको रुपमा रहेको छ। इलाम बजारको पूर्वोत्तर क्षेत्रमा रहेको ज्यादै आकर्षक माईपोखरीलाई उद्गम बिन्दु बनाएर बगेको माई खोलाको विभिन्न स्थानको किनारमा हरेक वर्ष माघ १ गते लाग्ने माघे मेलाको रुपमा फुलुङगी एउटा चर्चित स्थान हो। साथै, बलि पूजा या फूल फलेदोले खोला पूजा गर्नेको लागि समेत यो परिचित ठाउँ थियो। पछिल्लो समय किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ ले ज्ञान प्राप्त गर्नु भएपछि र किरात धर्मले व्यापकता पाउन थालेपछि यो स्थानको महत्व अझ चुलिएको छ।

जीतपुरको पूर्वबाट माई र पश्चिमबाट देउमाई खोला आएर मिसिएर बनेको दोभान फुलुङगी नामले चिनिन्छ, त्यसैको मास्तिर उत्तर पश्चिमको सानो थुम्कीलाई समेत यस नामले पुकारिन्छ। केही वर्ष अघिसम्म यो ठाउँमा सखुवाको घारी थियो। त्यही जंगलमा २०२७ साउन २५ गतेदेखि माघ २५ गतेसम्म ६ महिना तत्कालीन बालागुरु आत्मानन्द लिङ्देनले गुफासाधन गर्नुभयो। यसको लागि पान्थर कुरुम्बाका नरहाङ लाओती, भिमबहादुर लाओती, मानवीर लाओती, दधिराम लाओती र इलाम गजुरमुखी नाङरुङका वीरबहादुर योङहाङले साथ दिएका थिए।

लगातार छ महिना ध्यानमा बस्दा युमासँग साक्षात्कार हुनुभयो। तब महागुरु फाल्गुनन्द लिङ्देनको अपूरो कामलाई पूरा गर्न आफ्नो जन्मावतार भएको थाहा पाउनुभयो। यसअघि वहाँलाई आफू मात्र तागेरा निङवाभूमाङमा लीन हुने इच्छा थियो। त्यही प्रयासमा विभिन्न समय र ठाउँमा ध्यान गर्नुभएको थियो।

आफ्नो जन्मावतारको औचित्य थाहा पाउनुभएपछि ध्यान सकिए लगत्तै सोही ठाउँमा सेवा लगाउनुभयो। त्यसको लागि तत्कालीन इभाङ गाउँ पञ्चायतका प्रधानपञ्च हर्कध्वज सङबाङफेको अध्यक्षतामा समारोह समिति गठन भयो। काम बाँडफाँड गर्ने जिम्मेवारी तोपहाङ लिङ्देनलाई दिइयो।

बालागुरुले ज्ञान प्राप्त गर्नु भएपछि वहाँलाई चुक्चिनाम्बा गैरीधाम माङहिममा माङलाङताक्मा (देवस्वागत) गरियो। तब वहाँ महागुरु फाल्गुनन्दको अपूरो अधुरो कार्यलाई पूरा गर्न जन्मावतार हुनु भएको ठानी अङसीमाङ हुनुभयो। यस अर्थमा, मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’सँगै गुफा डाँडा फुलुङगीको महत्व चुलिन गयो।

गुरुकै निर्देशनमा यस स्थानको संरक्षणार्थ पहिलो समिति किरात धर्मगुरुकै निजी सचिव माङमिङसोहाङ लिङ्देनको अध्यक्षतामा पहिलो समिति गठन भयो। तब यस स्थानको संरक्षणार्थ केही कार्य र भावी खाका तयार भए। सोही अनुसार पछिल्ला समय गठित समितिले यस कार्यलाई दु्रत गतिमा अघि बढाइरहेका छन्। हाल फुलुङगी ज्ञानसिद्धि युमा हाङसाम माङहिम निर्माणाधिन अवस्थामा रहेको छ। साथै, पछिल्लो समय प्रत्येक वर्ष माघ १ गते माघे संक्रान्ति सत्यहाङमा शान्ति मकर सेवा (मेला) को आयोजना खत्रक्पा संरक्षणार्थ गठित समितिसँग सामूहिक रुपमा हरेक वर्ष पालैपालो खत्रक्पा र फुलुङगीमा वृहत कार्यक्रमको आयोजना हुने गर्दछ।