Phaktanglung
Delve into the mystical realm of Phaktanglung, a revered Kirat religious place enveloped in spiritual aura. Learn about its rituals, traditions, and cultural significance within the Kirat community. Embark on a spiritual journey to Phaktanglung to experience the essence of Kirat spirituality.
नेपालको पूर्वी जिल्ला ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको लेलेपमा यो अवस्थित छ। ७७१० मिटर अग्लो यो विश्वकै ३२औं अग्लो हिमाल हो। त्यसो त विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंगासँगै रहनाले र आरोहण गर्न ज्यादै कठीन हुने हुनाले पनि संसारभर यसको प्रख्याती छ। पछिल्लो समय यही हिमालको नाममा गाउँपालिकाको नामाकरण समेत भएको छ। मानिसको काँधजस्तै ढुङ्गाको शाब्दिक अर्थमा किरात लिम्बु भाषामा फक्ताङलुङ भनिए पनि तथा लिम्बुवानको गर्व एवं शीर ठानिए पनि यसको महत्व त्यतिमा नै सिमित छैन।
किरात धर्म दर्शनदाता, समाज सुधारक, मुहिङगुम अङसीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनले आफ्नो ६३ वर्षे जीवनकालमा गर्नुभएका महत्वपूर्ण कार्यहरुमध्ये फक्ताङलुङको मुक्तिढोका खोल्नुलाई प्रमुखताका साथ लिने गरिन्छ। वहाँले वि.सं. १९९३ मा यसको आध्यात्मिक ढोका खोलिदिनुभएको हो। फक्ताङलुङलाई पूर्वी मोहडाबाट सेवा (पूजा आराधना) गर्नको लागि पाङलाङमा एक देवस्थलको स्थापना गर्नुभयो। यही हिमालको दक्षिणी मोहडाबाट सेवा गर्न मारुङ तेम्बे (मातृ मैदान) पारुङ तेम्बे (पितृ मैदान), मारुङ फुक्कु (मातृ ओढार) पारुङ फुक्कु (पितृ ओढार)को सेवा गर्ने स्थल प्रचलनमा आएको पाइन्छ। सो सेवालाई सेलाउन छेवैको बैतर्नी खोला तरेर पारीपट्टी युमा याक्नाको स्थापना गर्नुभएको थियो। जुन फक्ताङलुङको सिधै मुनि पर्दछ। महागुरु फाल्गुनन्दले किरात धर्मावलम्बीलगायत विश्व मानव मुक्तिकै निमिक्त मुक्तिको आध्यात्मिक ढोका खोलिदिनुभएकोले यसलाई माङचोत्लुङको रुपमा पूज्ने गरिन्छ। यही क्रममा वि.सं. १९९४ मा फक्ताङलुङबाट प्रदान गर्नुभएको माङइङघङ (देववाणी) किरात धर्म दर्शनको एउटा महत्वपूर्ण अंश मानिन्छ। सोही वर्ष वहाँले पारुङ तेम्बेमा धर्मशालाको निर्माण पनि गर्नु भएको थियो। सो धर्मशाला भत्किएकोले हाल सोही स्थलमा धर्मशाला र माङहिम निर्माण भएको छ।
यस मुक्ति स्थलमा सक्नेले प्रत्येक वर्ष र नसक्नेले पनि जीवनमा एक पटक जानुपर्ने माङइङघङ भएयता प्रत्येक वर्ष किरात धर्मावलम्बीहरु हजारौंको संख्यामा फक्ताङलुङमा सेवा गर्न जाने गर्दछन्। साथै, किरात धर्मको प्रमुख संस्था किरात धर्म तथा साहित्य उत्थान संघले संस्थागत रुपमा यस स्थलमा वर्षेनी टोली पठाउने प्रचलन पनि रहेको छ।
महागुरुको अधुरो अपुरो कार्य पूरा गर्न आउनु भएका महागुरुका उत्तराधिकारी किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ पनि वि.सं. २०३० मा पहिलो पटक जानुभयो। वहाँलाई इष्टदेवी युमाले बिगतका कुराहरु सम्झाउँदै विश्व ब्रम्हाण्डको भविष्य देखाउँदै कार्यभार सुम्पिनु भएको थियो। त्यसबखत बालागुरुले उपनामले परिचित हुनुहुन्थ्यो। वहाँको लामो कपाल थियो। दोस्रो फक्ताङलुङ यात्राको क्रममा पाङलाङमा केश काट्नु भयो। साथै, त्यहीबाट संसारिक जीवनमा आएको बताउनु भएको थियो। संसारिक जीवनमा प्रवेशपछि वहाँ स–परिवार पटक पटक गइसक्नुभएको छ।