Mukumlung
Discover Mukumlung, a sacred Kirat religious place with deep spiritual significance. Learn about its history, cultural importance, and the unique rituals practiced there. Plan your visit to Mukumlung to experience the rich heritage of the Kirat community.
नेपालको सुदूर पूर्वी जिल्ला ताप्लेजुङ जिल्लामा अवस्थित मुकुम्लुङ अहिले बिभिन्न धर्मावलम्बीहरुको तीर्थस्थल भनिए पनि यो किरात लिम्बु समुदायको परापूर्वकालदेखि आध्यात्मिक आस्थाको प्रमुख केन्द्र हो। किरात लिम्बु भाषामा मुक्कुम भनेको शक्ति वा अग्नी र लुङ भनेको ढुङ्गा हो। अर्थात्, अग्नीपुञ्ज, शक्ति पुञ्ज वा शक्ति भएको ढुङ्गा भन्न सकिन्छ। यस डाँडाको पूर्वतर्फको ढुङ्गाको पहरामा एक अद्भूत ज्योति निस्कने वा बल्ने ढुङ्गा थियो। त्यसैले यसलाई मुक्कुमलुङ भनियो र त्यही पहरामा गएर पूजा गरिन्थ्यो। तर, त्यहाँ जो कोही जान नसक्ने भएकाले २००५ सालमा हर्कजंग मादेनको अगुवाईमा तुत्तु तुम्याहाङ, फेदाङमा साम्बाहरु भेला गराई माङ बाजागाजाको लावालस्करसहित डाँडामा निकालेर पूजा गर्न थालियो।
मुक्कुमलुङमा पूजाआजा गरी बल मागेमा पाइन्छ भन्ने जनविश्वास रहिआएको छ। साथै, यस ठाउँबारे नराम्रो सोचेमा, कुनै कार्य गरेमा, यस क्षेत्रमा फोहोर गरेमा अनिष्ट हुन्छ, मुक्कुमलुङले स्वयं नै सजाय दिन्छिन् भन्ने समेत जन विश्वास छ। यसबारे यसका जानकारहरुले धेरै प्रमाणहरु समेत देखाउने गरेका छन्।
यसको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरु पाइन्छन्। गुरुङ भेडी गोठको कथादेखि युमाले तान बुनेको, डाँडा डाँडामा धागो टाँगेका कथाहरु पाइन्छन्। तथापि युमासँगको प्रचलित दुई कथासँग जोडिने मुक्कुमलुङ नजिकका गाउँहरुले यो स्थल युमाको एक प्रमुख क्रिडास्थल हो भन्ने जनविश्वास रहेको छ।
यसलाई परापूर्वकालदेखि नै मुक्कुमलुङ भनिए पनि वि.सं. १८३१ पछि एकल धर्म, संस्कृति, भाषा, लिपि लाद्दै जाने क्रममा अन्न भरेको पाथी झैं देखिने यस डाँडालाई पाथीभरा नामाकरण गरेर मुक्कुमलुङलाई आझेलमा पार्ने गरेको इतिहासमा पाइन्छ। तथापि, स्थानीय किरात लिम्बुहरुको जनजिब्रोबाट भने मुक्कुमलुङ हट्न सकेको छैन।
समुद्री सतहबाट १२ हजार फिटभन्दा उचाइमा रहेको यस डाँडाको टुप्पोमा किरात मुक्कुमलुङ युमा माङहिम निर्माण भएको छ। जसको लागि माङसेवासाबाहरु नियमित बस्ने गरेका छन्। यो सँगै किरात धर्म तथा साहित्य उत्थान संघ वेलायतको पहलमा महागुरु फाल्गुनन्द लिङ्देनको शालिक समेत राखिएको छ। जसको अनावरण मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनले गर्नु भएको थियो। सोही स्थानमा किरात लिम्बुहरुको प्रतिक च्याबु्रङको स्तम्भ समेत राखिएको छ। त्यसको केही मुन्तिर हिन्दू धर्मावलम्बीहरुले पूज्ने पाथीभरा देवीको मूर्ति राखिएको छ। जहाँ बलिपूजा हुने गर्दछ।
यस स्थलबाट फक्ताङलुङ, कञ्चनजंघा, मकालु र लोत्सेलगायतको मनोरम हिमश्रंखाला सिधै पर झैं देख्न सकिन्छ।