Khatrakpa
नेपालको सुदूर पूर्वी जिल्ला इलामको सुदूर–पश्चिमी क्षेत्रमा देउमाई नगरपालिका छ। यो नगरपालिकामा जीतपुर गाउँसमेत गाभिएको छ। सोही जीतपुरको पुछारमा खत्रक्पा खोल्सी छ, जुन माई खोलासँग मिसिन्छ। सोही ठाउँलाई खत्रक्पा भन्ने गरिन्छ। यस ठाउँ किरात धर्मावलम्बीहरुको निमित्त विशेष मानिन्छ। किनकि, यसै ठाउँमा वि.सं. १९५० तिर तत्कालीन फलामसिं लिङ्देनले ८ वर्षकोे उमेरमा ज्ञान प्राप्त गर्नु भएको थियो। सोही ज्ञानलाई फैलाउने क्रममा वहाँ पछि फाल्गुनन्द नामले संसारभर परिचित हुनुभयो।
किरात धर्म दर्शनदाता, समाजसुधारक, मुहिङगुम अङसीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्म गाउँ तत्कालीन चुक्चिनाम्बाको डाँडा गाउँ हो। तर, त्यहाँको आयस्ताले वर्षभरि खान नपुग्ने भएकोले वहाँको बुबा आमा एक दिनको बाटो टाढा पुर्खौली गाउँ जीतपुरको पुछार ढोडेनीमा वर्षको केही महिना खेती गर्न जाने गर्नुहुन्थ्यो। यही क्रममा महागुरुले माई खोलापारिको गोठमा बुबालाई खाद्यान्न पु¥याउन जाँदा बिरामी पर्नुभयो। जसका कारण माई खोलाको किनार खत्रक्पामा लामपातेको रुखमा वहाँलाई सिमिको लहरा झैं लहराले बाँधेर मासुमंस बोकेर माई खोला तरेकोमा देवदूतले सवाल जवाफ गर्नुभयो। र, अघिल्लो जन्मको कुरा समेत सम्झना गराएर वहाँलाई सोही माईखोलामा लगेर स्वर्ण अक्षरले मुन्धुम पढाउनु भयो। वहाँ बिरामी भएर यता घरमा सुतिरहेको अवस्थामा राति अचानक देवदूतको बोलाहटमा जंगलमा गई यो घटना भएको थियो। त्यसैले वहाँलाई खोज्न जाने गाउँलेहरुले यो देख्न सकेनन्। जब महागुरुलाई देवदूतले सजाय र ज्ञान दिइसकेपछि बल्ल भेटेका थिए। यही देवदूतले महागुरुलाई पछि पनि पटक पटक भेटेर आफ्नो कर्तव्य र जिम्मेवारी के हो भन्ने सम्झाएका थिए। जसका कारण पल्टनबाट नाम काटेर समेत स्वदेश फर्कनु परेको थियो।
वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ ले समेत तपस्या गर्नु भएको सो स्थान धेरै वर्षसम्म गुमनाम जस्तै थियो। विशेषगरि भोग बलि दिनेहरुले यहाँ पूजा अर्चना गर्थ र सोही लामपातेको टोड्को परेको फेदमा बस्थे। यस्तैमा जीतपुरकै घलिन्द्रबहादुर लिङ्देनको परिवारले यसको संरक्षण गरेपछि यस स्थानले चर्चा बटुल्दै गयो। बलिपूजा हुन निषेध हुन पुग्यो। अहिले आएर यसको संरक्षणार्थ हाल सिद्ध स्थल खत्रक्पा संरक्षण समिति नामक संस्थाले उल्लेख्य केही कार्यहरु गरिरहेको छ।
पछिल्लो समय प्रत्येक वर्ष माघ १ गते माघे संक्रान्ति सत्यहाङमा शान्ति मकर सेवा (मेला) को आयोजना फुलुङगी संरक्षणार्थ गठित समितिसँग सामूहिक रुपमा हरेक वर्ष पालैपालो फुलुङगी र यस स्थानमा वृहत कार्यक्रमको आयोजना हुने गर्दछ।