Chukchinamba
Embark on a spiritual journey to Chukchinamba, a Kirat religious place where ancient rituals and profound beliefs intertwine. Explore the sacred grounds that have witnessed generations of devotion, connecting with the spiritual essence of Kirat heritage.
नेपालको सुदूर पूर्वी जिल्ला इलामको सुदूर–पश्चिमी क्षेत्रमा माङसेबुङ गाउँपालिका छ। यो गाउँपालिकामा इभाङ गाउँसमेत गाभिएको छ। सोही इभाङ गाउँभित्र चुक्चिनाम्बा गाउँ छ। किरात मुन्धुमी भाषामा सौर वृक्षलाई चिक्चो र बास्नालाई कुनाम वा नाम्बा भनिन्छ। यहाँ धेरै पहिले सौर फुलेर बास्ना आउँथ्यो। यसरी सौरवृक्षको फूलको बास्ना चल्ने ठाउँ भनी चुक्चिरे कुनामबाट चुक्चिनाम्बा भएको हो। किरात धर्मावलम्बीहरुमाझ यो गाउँ विशेषगरि ३ प्रमुख कारणले परिचित एवं पूज्य छ।
१. महागुरु फाल्गुनन्द लिङ्देन जन्मस्थल
किरात धर्म दर्शनदाता, समाज सुधारक, मुहिङगुम अङसीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जन्म चुक्चिनाम्बाको डाँडा गाउँमा भएको थियो। वहाँको जन्म वि.सं. १९४२ कात्तिक १५ गते आइतबार राति बुबा जगुनबाज र आमा हंशमती बेघाको कोखबाट साइला छोराको रुपमा भएको थियो।
डाँडागाउँबाट केही तल लेछेबुङ भन्ने स्थलमा महागुरु छुटिएर एक्लै बस्नु भएको थियो। यी दुबै ठाउँ अहिले संरक्षणको पर्खाइमा रहेको छ।
डाँडागाउँको दक्षिणमा चुक्चिनाम्बा खोल्सा र उत्तर–पूर्वतर्फ फेवाखोला रहेको छ। चुक्चिनाम्बा खोल्सातर्फ केही भिरालो छ भने फेवाखोलातर्फको जमिन दम्स्याइलो भएर उत्तर–पूर्वतर्फ फर्किएर रहेको छ। फेवाखोलापारि घोर्ले भीर रहेको छ।
झापाको दमकबाट फाल्गुनन्द मार्ग प्रयोग गरेर माङमालुङको एतिहासिक स्थलहरुको अवलोकन गर्दै प्रस्तावित पवित्रहाङमा मार्ग हुँदै यहाँ पुगिन्छ।
२. चुक्चिनाम्बा माङहिम
भौगोलिक बनावटको आधारमा चुक्चिनाम्बालाई डाँडा गाउँ र गैरी गाउँमा विभाजन गरिएको छ। महागुरु फाल्गुनन्दको जन्म भएको ठाउँ डाँडागाउँमा वि.सं. १९८६ मा एउटा माङहिम निर्माण गरिएको थियो। त्यस माङहिमलाई किरातेश्वर हाङसाम माङहिमको नामले चिनिन्थ्यो। यो नै महागुरुकालिन पहिलो माङहिम हो। चुक्चिनाम्बा माङहिमको रुपमा परिचित सोही माङहिमलाई पछि गैरीगाउँमा स्थापित गरियो जसलाई हाल चुक्चिनाम्बा सेन्दिपेसाप माङहिम भनिन्छ। मुहिङगुम अङसीमाङ फाल्गुनन्दको कालमा यस माङहिमको रेखदेख वहाँले नै गर्नु हुन्थ्यो। वहाँको देहावसानपछि बद्रीनन्द तुम्बापोले रेखदेख गर्नुभएको थियो। बद्रीनन्दको देहावसनपछि मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ले रेखदेख गर्नुभयो।
वि.सं. २०४५ मा आएको भूकम्पले भत्काएपछि यस माङहिमको जिर्णोद्वार वि.सं. २०४६ मा भएको थियो।
यही माङहिममा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा मुहिङगुम अङसीमाङ पवित्रहाङमा सा“बा लिङ्देनको देवविवाह २०३२ माघ २२ गते बिहीबार भएको थियो।
३. किरात धर्मगुरु आत्मानन्द लिङ्देन जन्मस्थल
डाँडागाउँको बिच भागको तुलनामा सिरान र पुछार केही भिरालो छ। पुछार गाउँ भिरालो भएपनि फेवाखोलाको नजिक भएकाले बिच र सिरानभन्दा खेतीका लागि उपयुक्त छ। साथै, कछाड भएकाले माथिल्लो भागभन्दा अलि छिटो बाली पाक्छ। बाली छिटो पाक्ने भएकाले त्यस पुछारबारीलाई मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले आगौटेबारी नामाकरण गर्नुभएको थियो। यही ठाउँमा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ को वि.सं. २०११ मंसिर १८ गते शुक्रबार बिहान बुबा पुण्यप्रसाद र आमा चन्द्रमाया (श्यामजिरी) चेम्जोङको कोखबाट जन्मावतरण भएको थियो।
डाँडागाउँको सबैभन्दा पुछारमा टेकबहादुरको घर पथ्र्यो। त्यसैले वहाँलाई पुछारे भनेर गाउँलेहरु चिन्दथे। हाल यस स्थलमा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ र मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनको अगुवाईमा एउटा सानो माङहिम र सो माङहिममा नित्य सेवा गर्नको लागि सेवासाबाको समेत व्यवस्था गरिएको छ।